नुवाकोटमा १४ जनाकाे आरडिटी रिपाेर्ट पाेजेटिभ, पिसिआर परीक्षणका लागि नमुना पठाइयाे
६ जेठ, नुवाकाेट । आज त्रिशूली अस्पताल र ककनी गाउँपालिकाको सिसडोल क्षेत्रका झण्डै पाँच सय जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ । त्रिशूली अस्पतालका कर्मचारी र विदुर नगरपालिकाका कर्मचारी गरी १६३ जनाको आरडिटी गरिएकामा आठ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौँ पठाइएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट डा रेमकुमार राईले बताउनुभयो ।

अस्पतालबाट आठ सहित १५ नमूना स्वाब पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइएको अस्पतालले जनाएको छ । यस्तै ककनी १ र २ को सिसडोल क्षेत्रका पनि आज परीक्षण गरिएको छ । तीन सय ३३ जनाको आरडिटी गरिएकामा १४ जनाको पोजेटिभ देखाएको थियो । आरडिटीमा पोजेटिभ देखाएको १४ जनासहित १५२ जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरी काठमाडौंँ पठाइएका गाउँपालिकाका स्वास्थ्य संयोजक जीवन भट्टराईले जानकारी दिनुभयो । काठमाडौंँ महानगरपालिकाको स्वास्थ्य शाखाको टोली आएर परीक्षण गरिएको थियो ।
सिलडोल क्षेत्रमा कोरोना भाइरसको परीक्षण हुनुपर्ने माग गर्दै स्थानीयवासीले दुई दिनअघि महानगरपालिकाबाट ल्याइने फोहोर रोकेका थिए । सोमबार कोरोना भाइरसको आजदेखि नै परीक्षण गरिने सहमति भई स्थानीयवासीले फोहोर फाल्न गरेको अवरोध हटाएका थिए ।
प्रकाशित मिति : May 19, 2020 at 7:32 pm





