११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

राष्ट्रको राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री ओली

६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सबै राष्ट्रले बराबररुपमा स्वाधीनताको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै देश भूगोल वा जनसङ्ख्यामा ठूलो-सानो र विकासमा अगाडि-पछाडि हुन सक्छ तर राष्ट्रियता सानो-ठूलो हुन सक्दैन, सबै राष्ट्रले बराबर स्वाधीनताको प्रयोग गर्न पाउनुपर्छ, आफ्नो नीति आफूले नै तय गर्न सक्छ ।”

नेपालको भूमि मिचिएको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले दुई ठूला देशको बीचमा रहेको मुलुकले तथाकथित राष्ट्रवाद वा लम्पसारवादको बाटो समाउन नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकको सिमाना राणा शासनको समाप्तिलगत्तैदेखि मिचिएको उल्लेख गर्नुभयो ।

उहाँले एकापट्टिको छिमेकीको सेना अर्काेपट्टिको छिमेकीको सीमामा लगेर राख्नेखालको अशोभनीय काम विगतमा भएको स्मरण गर्दै उक्त समयमा १७ वटा चेकपोष्ट उत्तरतर्फ राखेर परिकल्पना गर्न नसक्ने कामको स्थिति सिर्जना भएको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्को बैठकमा अर्काे देशका राजदूत उपस्थित गराएर बैठक गर्ने गलत प्रवृत्ति विगतमा भएको समेत उहाँले बताउनुभयो ।

सरकारले सोमबारमात्रै मिचिएको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने निर्णय गरिसकेको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही दिनभित्र नै मुलुकको नयाँ नक्सा सार्वजनिक हुने संसद्लाई जानकारी गराउनुभयो ।

प्रकाशित मिति : May 19, 2020 at 4:22 pm