सेनाले चीनबाट ल्यायो १८.८४ टन स्वास्थ्य सामग्री
६ जेठ, काठमाडौँ । नेपाली सेनाले चीनबाट खरिद गरेको १८.८४ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । मंगलबार बिहान नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले स्वास्थ्य सामग्री नेपाल ल्याएको हो । सेनाले यो चरणमा पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान ल्याएकाे छ ।

यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट सेनाको कन्टेनरले शनिबार ९ टन स्वास्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ । सेनाले वैशाख पहिलो साता सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो । सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ ।
प्रकाशित मिति : May 19, 2020 at 11:23 am





