राजन सिंह भण्डारीले प्रहरीमा बढुवा हुन नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुलासा
५ जेठ, काठमाडाैँ । नेपाल प्रहरीमा कार्यरत राजन सिंह भण्डारीले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको खुलासा भएको छ । भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

आयोगले भण्डारीको शैक्षिक प्रमाणपत्र नक्कली प्रमाणित भएसँगै विशेष अदलातमा सोमबार भ्रष्टाचारविरूद्धको मुद्दा दर्ता समेत गरेको छ । आयोगका अनुसार भण्डारीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाइ स्कुल परिक्षाको शैक्षिक योग्यताको झुठ्ठा एवं नक्कली प्रमाण-पत्र पेश गरी वढुवा भई लाभ लिएको पुष्टि भएको छ ।
आयोगले सोमबार उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले निज तत्कालीन प्रहरी नायव निरिक्षक राजन सिंह भण्डारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र ऐ. ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।
प्रकाशित मिति : May 18, 2020 at 2:27 pm





