कोरोना संक्रमित २९ वर्षीया महिलाको मृत्यु, धुलिखेल अस्पताल सिल
३ जेठ, काभ्रे । नेपालमा कोरोना भाइरस संक्रमित एक २९ वर्षीया महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजेटिभ देखिएपछि धुलिखेल अस्पताल सिल गरिएको छ । श्वास्प्रश्वासमा समस्या देखिएपछि उनलाइ बिहीबार अस्पताल पुर्याइएको थियो । महिलाको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा दुइ पटकसम्म पिसिआर पोजेटिभ आएको थियो । अस्पतालका निर्देशक डा राजेन्द्र कोजुले धुलिखेलको कोरोना प्रयोगशालामा दुबै विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे ।

कोरोनाकै उपचारका लागि तोकिएको अस्पतालमा सिन्धुपाल्चोकबाट ल्याएकी २९ वर्षीय महिलाको उपचारको क्रमममा बिहीबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन नरेन्द्र झाले बताए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन । वैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाले २४ गते बच्चा जन्त्माएकी थिइन भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती महिलामा सिन्धुपाल्चोक घर पुग्ने वितिक्कै ज्वारो र श्वासप्रश्वासको समस्या देखिएको थियो । त्यस्पछि उनलाइ स्थानीय स्वास्थ्य संस्था हुँदै धुलिखेल अस्पताल लगिएको थियो । ती महिलाको थ्रोड स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । अहिले महिलाको स्वाबको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण भैरहेको छ ।
प्रकाशित मिति : May 16, 2020 at 3:50 pm





