६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

धादिङकी एक महिलामा कोरोना संक्रमण देखिएपछि गल्छिको कटुवाल पौवा गाउँ सिल

-विवेक अर्याल
२ जेठ, धादिङ । धादिङकी एक महिलामा कोरोना भाइरस संक्रमण देखिएपछि गल्छि गाँउपालिकाको ८ कटुवाल पौवा गाउँ सिल गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । बिहीबार परिक्षण गरियको रिर्पोटमा कोरोना भाइरस संक्रमित महिला धादिङकी भेटिएपछि आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि उनी बस्ने गाउँ सील गर्ने निर्णय भएको हो ।

शुक्रबार बिहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधि सहितको संयुक्त बैठकले, गल्छी गाउँपालिका वडा नं. ८ स्थित् कटुवाल पौवा गाउँ सिल गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो ।
गल्छी गाउँपालिका ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक सिल गर्ने निर्णय भएको छ ।

यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा समेत जारी गर्दै सिल गर्ने निर्णय भएको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार उक्त गाँउको चार किल्ला भित्र अधिकांश गतिविधिलाई बन्द गराइएको छ भने सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ ।

उल्लेखित चार किल्लाभित्र कोहि कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनको लागि र माइकिङ गर्न सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ । संक्रमित व्यक्तिसँग जोडिएका व्यक्तिलाई सम्पर्क गरी क्वारेन्टाइनमा राख्नका लागि गल्छी गाउँपालिकालाई निर्देशन दिइएको छ । त्यसका लागि वडा नं. ८ का अध्यक्ष भरत तामाङको संयोजकत्वमा ’कन्ट्याक्ट ट्रेसिङ’ गर्न स्वास्थकर्मी सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टिम समेत बनाइको छ ।

यता संक्रमित महिलासँग सम्पर्कमा आएका सबैजनाको पीसीआर परीक्षण गराउने निर्णय गरिएको स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा.भुवन पौडेलले जानकारी दिए । उनले भने, ’संक्रमित महिलासँग सम्पर्कमा रहेका सबैजनाको स्वाब संकलन गरी पीसीआरका लागि पठाउने छौँ, सुरुमा कन्ट्याक ट्रेसिङको काम हुन्छ त्यसपछि पीसीआर गराउने छौँ।’

संक्रमित व्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरि नगरपालिकाको अमरबस्ती (सतुङगल क्षेत्र)मा पनि सजगता अपनाउन चन्द्रागिरि नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको गल्छी गाँउपालिकाका प्रमुख कृष्णहरी श्रेष्ठले जानकारी दिए ।

  

 

प्रकाशित मिति : May 15, 2020 at 2:10 pm