नेपालबाट उद्धार गरिएका सबै चिनियाँ स्वस्थ, कोभिड परीक्षण नेगेटिभ, नेपाललाई दिए धन्यवाद
३१ बैशाख, काठमाडौँ । नेपालबाट गत साता उद्धार गरेर स्वदेश फर्काइएका चिनियाँहरुमा कोरोना (कोभिड १९) भाइरसको परीक्षण नेगेटिभ आएको छ । नेपालबाटै चिनियाँ भाषामा सञ्चालन भइरहेको नेपालसम्बन्धी अनलाइन वी च्याट सञ्जाल “सीन निपोअर(नयाँ नेपाल)”ले चीनमा पुगेपछि गरिएको भारसलगायतको विभिन्न स्वास्थ्य परीक्षणबाट उनीहरु सबै स्वास्थ रहेको र नेपाल तुलनात्मकरुपमा कोभिडबाट सुरक्षित रहेको उल्लेख गरेको छ ।
पाँच दिनअगाडि एअर चाइनाको उडानबाट उद्धार गरिएकालाई सिछुवान प्रान्तको राजधानी सहर छन्तु सहर र चाइना साउदर्न एअरलाइन्सको उडानबाट लगिएकालाई क्वाङ्गचौ (ग्वानझाउ) सहरमा आइसोलेसनमा राखिएको छ । अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि नेपालमा अलपत्र परेका झण्डै ३ सय ५० जना चिनियाँहरुलाई काठमाडौैंस्थित चिनियाँ दूताबास तथा नेपालस्थित आप्रबासी चिनियाँ संघको समन्वयमा गत बिहीबार काठमाडौबाट उद्धार गरिएको थियो ।

फर्किएका चिनियाँका आफन्तले नेपालमा रहदाँ कोभिड संक्रमणबाट सुरक्षित रहेकालाई बधाई र सुरक्षाको उचित मापदण्ड अपनाएकोमा नेपाललाई धन्यवाद दिएका छन् । “मेरी छोरीलगायत सबै यात्रुको न्युक्लिक एसिड परीक्षण रिपोर्ट नेगेटिभ आएको छ र सबै यात्रुहरुमा संक्रमण शुन्य देखिएको छ”, एक यात्रुकी आमाले भनेकी छन्– “महामारी नियन्त्रणमा कडा मापदण्डका लागू गरेकोमा नेपाललाई धन्यवाद, नेपालमा रहदाँका बखत चिनियाँलाई प्राप्त सहयोगको लागि पनि धन्यवाद ।”
नेपालदेखि चीनसम्मको यात्रा निकै कठिन भएको अर्का एक यात्रुले बताएका छन् । उनका अनुसार क्वाङ्गचौ विमानस्थलमा काठमाडौँबाट गएका सम्पूर्ण यात्रुको सेवामा ५६ जना कर्मचारी खटिएका थिए र विमानस्थलबाट आइसोलेसन बनाइएको होटल पुग्न ४ घन्टा लागेको थियो । अत्याधिक चापका कारण उद्धार गरेर स्वदेश फर्काउने काम चीनका लागि निकै कठिन र चुनौतीपूर्ण रहेकोले नेपालमा बाँकी रहेको चिनियाँहरुलाई धैर्य, सुरक्षित र स्वास्थ्य रहन सुझाव दिएका छन् ।
प्रकाशित मिति : May 13, 2020 at 7:41 am





