११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

मानवीय क्षति विना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भैरहेको छः मन्त्री ढकाल

२९ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेको भन्दा अलि फरक नीति अवलम्बन गरेको बताउनुभएको छ । सोमबार चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा बोल्दै मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अबलम्बन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिले प्रवेश गर्न नदिने नीतिमा थियाैँ, अहिले हामी यसको विस्तार सीमित गराउने अभियानमा लागेका छाैँ ।’

मन्त्री ढकालले मावनीय क्षति विना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भैरहेको उल्लेख गर्नुभयो । स्वास्थ्य सामग्री र अनुभव दुबैको अभावका बीचमा पनि राम्रो प्रयास भैरहेको भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंशा गर्नुभयो । उहाँले कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाइ विश्वका जुनजुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षा प्राप्त गरेको बतउनुभयाे । उहाँले चीनका तर्फबाट विभिन्न मोडलमा भैरहेको चिकित्सकीय छलफल र अन्तरक्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताउनुभयाे ।

मन्त्री ढकालले अभावको समयमा चीनले अत्यावश्यकीय स्वास्थ्य सामग्री अझै उन्नतस्तरमा पठाएर धेरै राम्रो सहयोग गरेको बताउनुभयो । उहाँले नेपाल र चीनको मित्रता महत्वपूर्ण रहेको भन्दै हिजोका दिनमा चीनमा दुःख पर्दा नेपालले पनि सहयोग गरेको भन्दै एकअर्कालाइ सहयोग गरेर अघि बढिएको बताउनुभयो ।

सो अवसरमा नेपालका लागि चिनयाँ राजदूत हाै यान छीले कोरोना भाइरसँग लड्न नेपाललाइ सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको उल्लेख गर्दै चीन संकटमा सदैव नेपालको साथमा रहने प्रतिबद्धता जनाउनुभयाे ।

चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, पिपइ सेट १० हजार थान रहेका छन्। यसअघि पनि चीनको विभिन्न प्रान्तीय सरकार र विभिन्न संस्थाले पनि स्वास्थ्य समाग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : May 11, 2020 at 9:51 pm