६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

तनहुँमा बाँझो जग्गा नराख्ने अभियान शुरु

२६ वैशाख, तनहुँ । शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लक डाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु गरिएको हो ।  उक्त अभियानअन्तर्गत शुक्लागण्डकी– ८ ले लगानीको ५० प्रतिशत अनुदान प्रदान गरी अभियान शुरु गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । सोही वडास्थित लालीममा रहेको सात रोपनी सार्वजनिक जग्गामा सामूहिक तरकारी खेती शुरु गरिएको छ ।

वडा कार्यालयसँग समन्वय गरी कम्तीमा तीन रोपनी क्षेत्रफलमा तत्काल छोटो समयमा उब्जनी गर्न सकिने किसिमका तरकारी सामूहिक वा व्यक्तिगत तवरले व्यावसायिक रुपले खेती गर्ने कृषक समूह वा व्यक्तिलाई कुल लगानीको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको हो ।
तीन रोपनीभन्दा कम क्षेत्रफलमा आफ्नो व्यक्तिगत प्रयोजनका लागि खेती गर्ने कृषकलाई टोल विकास संस्थामार्फत निःशुल्क बीउबिजन वितरण गरिने वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

सोही वडाको लालीमस्थित तीन टोल र संगमटोलद्वारा संयुक्त रुपमा कृषक समूह गठन गरी सामूहिक तरकारी खेती गर्न लागिएको अन्नपूर्ण टोलविकास संस्थाका अध्यक्ष रमेश महतले जानकारी दिनुभयो । बाह्र वटा वडा रहेको सो नगरपालिकामा अन्य वडामा पनि बाँझो जग्गा सदुपयोग गर्ने अभियानमा सक्रिय भएर लागेको शुक्लागण्डकीका उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो ।
केही दिनअघि मात्रै बन्दिपुर गाउँपालिकाले यस्तो अभियान शुरु गरेको थियो ।

बाँझो रहेका जग्गा भूमि बैँकमार्फत सदुपयोग गर्ने नीति अघि सारिएको बन्दीपुरका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । जिल्लाका दक्षिण भेगमा पर्ने ऋषिङ र घिरिङ गाउँपालिकालगायत अन्य पालिका पनि यसअ अभियानमा आत्मसात् गर्दै अघि बढेको बताइएको छ ।

प्रकाशित मिति : May 8, 2020 at 10:51 am