२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

स्याङ्जामा भेटियाे डेङ्गुका बिरामी

२२ वैशाख, वालिङ । स्याङ्जाको वालिङमा डेङ्गुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डेङ्गुका बिरामी फेला परेसँगै वालिङ नगरपालिकाले यो रोग नियन्त्रणका लागि छिट्टै ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा रहेको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “यो भाइरसबाट सर्ने रोग भएको हुँदा यसको उपचार छैन पूर्वसावधानी नै महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “यो रोग सर्नुका कारण, यसका लक्षण तथा यसबाट बच्न अपनाउन सकिने उपायबारेमा नगरवासीलाई सचेतना जगाउनका लागि प्रचारात्मक अभियान चलाउँछौँ ।”

नगरपालिकाले चेतनामूलक कार्यक्रमसँगै डेङ्गु नियन्त्रणका लागि यसका बासस्थान नष्ट गर्ने तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाउने नगर प्रमुख खाँणले बताउनुभयो । डेङ्गु ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुनसक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : May 4, 2020 at 5:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/