१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सरकार ढाल्न कसिएका प्रचण्डको दाैडधुप बढ्यो, प्रधानमन्त्री भेटे लगत्तै नेपाल भेट्न कोटेश्वरमा

१९ वैशाख, काठमाडाैँ । विनोद चौधरी लगायतका स्वार्थ समूहका एजेन्डाहरू कार्यान्वयन गर्न नपाउँदा छटपटिएको नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दौडधुप अझै चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सत्ताच्यूत गराउन केही महिनादेखि लागि परेका नेताहरू अहिले सतहमै देखिने गरी सरकार ढाल्न लागि परेका छन ।

सार्वजनिक रूपमा आफू निकटका केही सञ्चारमाध्यमबाट प्रधानमन्त्रीको राजिनामा माग्दै आएका नेताहरूले अस्तिको सचिवालय बैठकमा प्रधानमन्त्रीले राजिनामा दिने घोषणा गरेको भन्दै प्रधनमन्त्री बन्नेदेखि विभिन्न मन्त्री बन्नेहरूले आफ्नो तयारी गर्न थालेका छन । प्रधानमन्त्री बन्ने दौडधुपमा लगेका उपाध्यक्ष बामदेव गौतम कानुनीबाटो केलाउन थालेका छन भने स्थायी कमिटीमा रहेर मन्त्री हुन खुट्टा उचालेका एक दर्जना नेताहरू कोही अर्थशास्त्रीसँग त कोही परराष्ट्र विदसँग घरमै बसेर परामर्शमा जुटेका छन ।

प्रचण्ड(नेपाल समूहका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले त प्रधानमन्त्रीले सचिवालय बैठकमा राजिनामा दिने स्वयं घोषणा गरिसकेको भन्दै गौतमसँगको पुरोनो तस्बीर फेसबुकमा राख्दै गौतमबारे केही स्तुती प्रस्तुत गरेका छन । नेकपा भित्र के हुन्छ भन्ने विषयमा आम चासो बढीरहँदा सरकारबाट प्रधानमन्त्री ओलीलाइ हटाउन लागि परेका प्रचण्डले शुक्रबार ओलीसँग भेटे लगत्तै नेपाल निवास कोटेश्वरमै पुगेका भेटवार्ता गरेका छन । उनले शुक्रबार नै चिनियाँ राजदूतसँग पनि भेटवार्ता गरेका छन ।

चैत ५ मा राप्रपा नेताको घरमा सरकार ढाल्ने विषयमा प्रतिपक्षी दलहरूसँग समेत सहमति जुटाएका प्रचण्डको योजनामा सरकारविरूद्ध हस्ताक्षर अभियान समेत चलेको थियो । तर दुबै तर्फबाट हस्ताक्षर अभियान चलेपछि अहिले त्यो विषय छायाँमा परेको छ । भोलि शनिबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा उनले शुक्रबार नै भैँसेपाटी  गठबन्धनका योजनाकार गौतमसँग समेत छलफल गर्ने उनी निकट स्रोतले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य रिजालले फेसबुकमा लेखेको टिप्पणी

प्रकाशित मिति : 19:08