रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन
१९ वैशाख, काठमाडाैँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको शुक्रबार बिहान ८३ वर्षको उमेरमा काठमाडौँको केएमसी अस्पतालमा निधन भएको हो ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको जन्म सन् १९९३ मंसिर १२ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय पौडेल हुन्। उनको बाल्यकाल बनारसमा बित्यो। उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो।
विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन्। उहाँले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर गीत गाएकी थिइन।
उनले इतिहास विषयमा एमए सम्मको अध्ययन गरेकी थिइन। उनका १ छाेरा तथा २ छाेरी रहेका छन् ।
प्रकाशित मिति : May 1, 2020 at 10:47 am





