राहत वितरणमा अनियमितता भएको समाचार संकलन गर्न पुगेका पत्रकार विनाकारण प्रहरी खोरमा
१८ वैशाख, डोटी । राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको भन्दै प्रेस सङ्गठन जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ ।

स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफुले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले बताउनुभयो । फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिदाँ आफुमाथी हातपात गर्नुका साथै प्रहरीले विना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले जानकारी दिनुभयो ।
प्रेस सङ्गठनका जिल्ला संयोजक कर्ण चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले विना कारण नियन्त्रणमा लिई हिरासतमा राखेका पत्रकार कार्कीलाई तत्काल ससम्मान रिहाइ गर्न माग गरिएको छ । समाचार सङ्कलन गर्न गएका पत्रकार कार्की माथी वडाध्यक्षले कुटपिट गरेको भन्ने आरोप लगाइएको छ । प्रहरीले कार्कीसहित तीन अन्य व्यक्तिलाई वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति : April 30, 2020 at 8:52 pm





