५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

बेपत्ता भएको ११ दिनपछि सम्पर्कमा

१८ वैशाख, मेलम्ची । यही वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आउनुभएको छ । जिल्लाको बलिफी गाउँपालिका–४ घर भएका सुरज अहिले आफ्नो फोन सम्पर्कमा आएको वडाध्यक्ष कालिप्रसाद तामाङले बताउनुभयो । अध्यक्ष तामाङका अनुसार सुरजले आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताउनुभएको छ । सुरजको जिउ, आँखा सबै रातो भएको गाह्रो भएको सुनाएको तामाङले जानकारी दिनुभयो । सुरज अहिले रसुवाको दुप्चेश्वर गाउँपालिका–१ स्थित सूर्यकुण्ड भन्ने स्थानमा रहेको बताइएको छ ।

उक्त ठाउँ चार हजार ७०० मिटर उचाइमा रहेको र हिउँ परिरहेकाले उद्धार गर्न कठिन भएको वडाअध्यक्ष तामाङले बताउनुभयो ।रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनमा कार्यरत सुरज बेपत्ता हुनुभएको थियो । वैशाख ६ गते दिउँसोसम्म परिवारको सम्पर्कमा रहेका लामाको त्यसयता परिवारसँग सम्पर्क भएको थिएन । लामो समय परिवारसँग सम्पर्क टुटेपछि गत शुक्रबार बेलुकी कम्पनीसँग कुरा भएपछि मात्र सुरजको खोजी गरिएको थियो ।

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि कम्पनीलाई जानकारीनै नदिई उहाँ काम छाडेर घर हिँड्नुभएको बताइएको छ । सुरज त्यहाँ केही महिनाअघि स्थापना भएको कम्पनीको मेसमा कुकको रूपमा कार्यरत हुनुहुन्थ्यो । कम्पनीका अनुसार उहाँ गोसाइँकुण्डको बाटो हुँदै घर गएको खुलेको थियो ।

प्रकाशित मिति : April 30, 2020 at 1:32 pm