५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

एक सातामा ७२ जना महाकाली तरेर नेपाल भित्रिए

१७ वैशाख, दार्चुला । लकडाउनका कारण विगत एक हप्ताको अवधिमा महाकाली नदी तरेर दार्चुलामा ७१ जना भित्रिएका छन् । मजदूरी गर्न भारतको धार्चुला गएका नेपालीहरु लकडाउनका कारण अलपत्र परेपछि महाकाली तरेर उनीहरु नेपाल भित्रिएका हुन् । पुल खुल्ने अवस्था नभएपछि नेपालीहरु ज्यानको बाजी राखेर भएपनि घर फर्किने क्रम बढेको छ । बुधबार बिहान मात्र महाकाली नगरपालिका–९ चुच्चैमा ट्युब तरेर १६ जना भित्रिएका छन् ।

भारतको मदकोट क्षेत्रमा काम गरी फर्किएका बैतडी डिलाशैनी गाउँपालिका–४ का सुरेन्द्र नेगी, अमर नेगी, प्रेम नेगी, पुष्कर विष्ट, डिलौशनी–३ का खेमराज बोहरा, रमेश बोहरा, ईश्वर नेगी, लोकेन्द्र भण्डारी, काशी बोहरा, दलबहादुर भण्डारी, वीरसिंह धामी, बलवीर बोहरा, डिलाशैनी–७ का वीरबहादुर कार्की, पूर्चौडी नगरपालिका–१० का कर्णबहादुर विष्ट र दार्चुला नौगाड– ६ का वीरेन्द्र ठगुन्नाले ट्युब तरेर नेपाल भित्रिएका छन् ।

धार्चुला क्षेत्रमा रहेका नेपाली पुल खुल्ने अनिश्चित भएका कारण दिनहुँ नदी तरेर आउन थालेका हुन् । उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिर्न बाध्य छन् । मङ्गलबार मात्र आठ नेपाली व्यास गाउँपालिका–१ का माल्पा हुँदै नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । प्रहरीका अनुसार पछिल्लो एक सातामा ७२ जना भित्रिएका छन् । वैशाख १० गते नौ, १२ गते पाँच, १३ गते ३४, १६ गते आठ र १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन् । यसअघि महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना वैशाख १० अगाडि आइसकेका थिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रका निरीक्षण गर्नुभएको छ । भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमधाम फर्किरहेका प्राप्त सूचनाका आधारमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको बताउनुभयो ।

प्रकाशित मिति : April 29, 2020 at 5:29 pm