भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन
१७ वैशाख, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना सङ्क्रमण देखिएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि भुल्केमा थप स्वाब नमूना सङ्कलन गरेको हो ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार अहिलेसम्म भुल्केमा ३३४ व्यक्तिमा स्वाब नमूना सङ्कलन गरेको र तीमध्ये २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मुस्लिमबाहेक अन्य समुदायका स्थानीय बासिन्दाले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि मङ्गलबार थप ३३ जनामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
भुल्केमा ५५ घर मुस्लिम समुदाय र बाँकी ३०० घर अन्य समुदायका छन् । भुल्केवासीले प्रत्येक घरका सदस्यको स्वाब टेष्ट गर्न माग गरेपछि स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न समग्री तथा उपकरण व्यवस्थापन गर्दै भुल्केमा स्वाब नमूना सङ्कलनको दायरा बढाउँदै लगेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
प्रकाशित मिति : April 29, 2020 at 5:08 pm





