५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

१६ वैशाख, बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गर्नुभएको छ । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिनुभएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले एक युनिट तथा ३५० एमएल रगत दिनुभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो । युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ । रगत दानपश्चात युवतीको ज्यान बचेको डा जोशीले बताउनुभयो । “लकडाउनका बेला रगत खोज्न समस्या भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो”, रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “मानवीय कुरा भएर पनि आफूले रगत दिएँ, निकै खुशी छु ।”

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा सेना प्रहरीकै भर पर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम प्रदेश सरकारले रक्तसञ्चार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको भए पनि जिल्लामा हालसम्म केन्द्र सञ्चालन हुनसकेको छैन । रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रेडक्रसलाई जिम्मा दिए पनि जनशक्तिको अभाव रहेको डा जोशीले बताउनुभयो । “प्रदेश सरकारले विनियोजन गरेको बजेटले मेसिन खरिद गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित रगत एक महिनासम्म खपत गरिसक्नुपर्ने हुन्छ, जिल्लामा रगत आवश्यक पर्ने घटना कम हुन्छन्, केन्द्र स्थापनाका लागि केही समस्या भएको छ ।”

प्रकाशित मिति : April 28, 2020 at 8:01 am