५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

डोटीका नौ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना हुने

१५ वैशाख, डोटी । जिल्लामा खाद्यान्नको सङ्कट आउन नदिनका लागि नौ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यहाँका सबै स्थानीय तहले कोरोनाको कहरका कारण हुन सक्ने खाद्य अभाव तथा अन्य विपद्को जोखिमबाट बच्न पूर्वतयारीस्वरुप खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण र भविष्यमा आउन सक्ने विपद्लाई लक्षित गरी यहाँका नौ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी कोरोनाको कहरसँग दिनहुँ लडिरहेका छौँ, कोरोनासहित अन्य विपद्बाट बच्नका लागि सबै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने निर्णय गरेका छौँ, सोही निर्णयानुसार सबैले खाद्य बैंक स्थापना गर्ने छन् ।”कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधि अनिश्चितकालीन रहेकाले खाद्यान्न अभाव हुनसक्ने अनुमान गरी स्थानीय तहले अस्थायी खाद्यान्न बैंक स्थापना गर्ने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षाद्को समय पनि शुरु भएको र जिल्लामा खाद्यान्न अभाव हुनसक्ने भएकाले सबै स्थानीय तहले अस्थायीरुपमा भए पनि खाद्य बैंक स्थापना गर्ने निर्णय भएको छ, जस्ले गर्दा खाद्य सङ्कट हुने छैन् ।”

खाद्य बैंक स्थापनाका लागि स्थानीय तहको विपद् व्यवस्थापन कोषबाट केही रकम खाद्यान्न खरिदका लागि व्यवस्थापन गर्न सकिने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । खाद्य बैंकमा खाद्य मौज्दात गर्दा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने निर्णय भएको उहाँले बताउनुभयो । जिल्लामा मकै, कोदो, आलु, फापर र जौ बढी उत्पादन हुने खाद्य पदार्थ हुन् भने चामल, दाल र तेल तराईका जिल्लाबाट आयात गरिन्छ ।

प्रकाशित मिति : April 27, 2020 at 4:03 pm