बन्दाबन्दीमा रुख काट्दै गर्दा १ जना पक्राउ
१५ वैशाख, जलेश्वर । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा डिभिजन वन कार्यालयले तिनकोसे जङ्गलमा रुख काट्दै गरेका अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्लाको बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामा रहेको सो कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिनुभयो ।

तिनेकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सहायक वन अधिकृत ओमविक्रम खड्काको नेतृत्वमा खटिगएको सशस्त्र वन सुरक्षाकर्मीसहितको टोलीले आज नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले बताउनुभयो ।
प्रकाशित मिति : April 27, 2020 at 1:58 pm





