५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण दुई दर्जन घर जोखिममा

१४ वैशाख , तनहुँ । तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पुर्याउँदा जोखिममा परेका हुन् । व्यास नगरपालिका–१ लिचीघारीस्थितका एक दर्जन घर पहिरोले क्षति पुर्याउँदा पदम विश्कर्मा, मनोज धमेल, सूर्य मग्राती, उत्तम पुलामीलगायत घर जोखिममा परेका छन् । बस्तीमा नालीको व्यवस्थापन नहुँदा धेरै घरमा क्षति पुगेको छ ।

 

बिहीबार र शुक्रबार रातभर परेको अविरल वर्षाका कारण यस क्षेत्रका बासिन्दाको घर खतरामा परेकाले अन्य क्षेत्रमा पनि पुर्यराएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । पहिराले बन्दै गरेको घरमा समेत क्षति पुर्याएको व्यास नगरपालिका–१ निवासी घरधनी धु्रव बस्नेतले जानकारी दिनुभयो । बस्ती नजिकै जग्गा प्लाटिङ गरिएको र प्लटिङबाट बगेर आएको बाढीले आफ्नो घरमा क्षति पुर्याएको उहाँले बताउनुभयो ।

पहिरोपीडित बासिन्दाले जथाभावी प्लाटिङ गर्ने कार्य तत्काल रोक्नका लागि स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नपर्ने उनीहरुले माग राख्दै आएका छन् । त्यसैगरी पहिरोले व्यास नगरपालिका–३ दुर्गा मन्दिर लाइनका पनि क्षति पुगेको छ । बस्तीमुनि गएको पहिरोले एक दर्जन बढी घर सङ्कटमा परेको वडा नं ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेमकुमार श्रेष्ठ, चुडामणि दाहाल, इन्द्रकुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, त्रिभुवन श्रेष्ठ लगायत घर खतरामा परेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नजिकैको पछाडिपट्टि पर्ने ती घरको भतेरीपट्टिको भागमा करिब ५० मिटर लामो पहिरो गएपछि ती घर सङ्कटमा परेका हुन् । मूल पलाउने र माटो बग्ने गरिरहेकाले पक्की घर नै बगाउने हो कि भन्ने चिन्ताले सताएर टोलवासी आत्तिएको वडाध्यक्ष श्रेष्ठ बताउनुभयो ।

सिर्जना टोल विकास संस्था र वडा नं ३ को पहलमा रेडक्रस र व्यास नगरपालिकाबाट त्रिपाल र पाइप मागी माथिबाट झरेको पानी रोक्ने र माटो बग्न नदिने प्रयास गरिएको सिर्जना टोल विकास संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा ती घर खतरामा रहँदै आएका थिए । केही घरको पछाडि ग्याबियन र जाली लगाउने काम भए पनि कतिपय घरको पछाडि काम नहँुदा अहिले पहिरो खसेको हो ।

प्रकाशित मिति : April 26, 2020 at 12:03 pm