५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

तनहुँको वडाध्यक्ष मल्लसहित १६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता

१४ वैशाख, दमौली । तनहुँको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लसहित १६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरिएको छ । भानु नगरपालिका–१ भन्सारका २१ वर्षीय प्रवीण गुरुङको हत्या भएको भन्दै शुक्रबार नै किटानी जाहेरी दिइए पनि उक्त दिन जाहेरी दर्ता नगरेको प्रहरीले शनिबार किटानी जाहेरी दर्ता गरेको हो ।

वैशाख ९ गते रातिदेखि हराएका गुरुङ भानु नगरपालिका–५ नावरुङस्थित खोल्सामा बिहीबार मृत फेला परेपछि पीडित परिवारले वडाध्यक्ष मल्लसहित १६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएको मृतकका बुबा बुद्धिराज गुरुङले जानकारी दिनुभयो । वडाध्यक्षसहित १६ जना शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् ।

भानु नगरपालिका–५ का सुगम मल्ल, आदर्श शाही, बबिन शाही, अमित ठकुरी, विश्वास आले, राजु अछामी, हरि अछामी, रुपेश आले, निर्मल अछामी, सुयोग गुरुङ, दीपक भण्डारी, भानु नगरपालिका–१ का अङ्कित अधिकारी, पवन घर्ती, गोविन्द थापामगर र धनबहादुर घर्तीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ ।

वडाध्यक्ष मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाउनुभएको थियो । सामान लिन पवनसँगै उहाँका साथीहरू दीपक भण्डारी, अङ्कित अधिकारी र प्रवीण गुरुङ पनि नावरुङ पुग्नुभएको थियो । नावरुङमा स्थानीयवासी गोविन्द थापामगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि प्रवीण बेपत्ता हुनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार घटनाको अनुसन्धान शुरु गरिएको र शव परीक्षणको तयारी भइरहेको छ । “अहिले नै घटनाको सबै विवरण भन्न सकिने अवस्था छैन, पक्राउ परेकाहरूसँग पनि सोधपुछ भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : April 26, 2020 at 11:37 am