५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

एक महिनापछि खोप नियमित शुरु

१४ वैशाख, कास्की । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगित खोप कार्यक्रम आजदेखि शुरु हुने भएको छ । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा पोखरा महानगरको स्वास्थ्य महाशाखाले एक महिनापछि वडा नं ११, १३ र १४ मा आज र वडा नं १२ र १५ मा वैशाख १५ गते खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । त्यसपछिका दिनमा यसअघिको तालिकाअनुसार नियमित खोप कार्यक्रम सञ्चालन हुने छ ।

महानगरमा गते अनुसार वडाका सम्बन्धित खोप केन्द्रमा बालबालिकालाई खोप दिने गरिएको छ । मातृ शिशु मितेरी अस्पताल, शिशुवा अस्पताल, सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकी तथा खोप केन्द्रमा यसअघि तोकिएको मिति र समयअनुसार खोप कार्यक्रम सञ्चालनको तयारी गरिएको सो महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताउनुभयो ।

गत चैत १० गतेसम्म पोखरामा खोप कार्यक्रम नियमित भएकामा बन्दाबन्दी शुरु भएपछि स्थगन गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै जारी गरेको कोभिड–१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि मार्गदर्शनअनुसार महानगरका ३३ वटै वडामा खोप कार्यक्रम शुरु गर्ने तयारी गरिएको छ ।

महानगरमा एक वर्षमुनिका १० हजार २१५ बालबालिका नियमित खोप कार्यक्रममा आवद्ध रहेको बताइन्छ । बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ । खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने जारी मार्गदर्शन जारी भएको सिअहेव अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो । जिल्लामा अन्य चार गाउँपालिकामा भने खोप कार्यक्रम शुरु भएको छैन ।
–––

प्रकाशित मिति : April 26, 2020 at 9:17 am