कोरोनालाई जितेकी पानादेवीलाई नगरपालिकाले शौचालय बनाइदिने
१४ वैशाख, घोडाघोडी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई हराउने कैलालीको लम्किचुहा नगरपालिका–१ लम्की भुरुवाकी पानादेवी विकलाई नगरपालिकाले शौचालय बनाइदिने भएको छ । राससले शनिबार विकसँग गरेको अन्तर्वार्तामा उहाँले आफू घरमा एक्लै बसेको तर शौचालय नहुँदा जङ्गल जानुपर्ने बाध्यता रहेको बताएको पढेपछि नगरपालिकाका प्रमुख महादेव बजगाईँले विकका घरमा शौचालय बनाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुख बजगाईँले रासससँग कुरा गर्दै भन्नुभयो, “मैले अन्तर्वार्ता पढेँ, हामी जाँदा उहाँले शौचालयको समस्या भन्नुभएको थिएन तर अन्तर्वार्ता पढेर थाहा पाएँ । पानादेवी विकको घरमा नगरपालिकाले शौचालय बनाइदिन्छ । उहाँलाई अन्य कुनै समस्या भए हामीलाई खुलस्त भने हामी समस्या समाधान गर्ने प्रयत्न गर्छौ”, प्रमुख बजगाईँले भन्नुभयो ।
आफ्ना घरमा नगरपालिकाले शौचालय बनाइदिने कुरा सुनेपछि विक निकै खुशी हुनुहुन्छ । “मेरो एउटै सपना थियो शौचालय बनाउने, त्यो सपना नगरपालिकाले पूरा गरिदिने भयो, निकै खुशी छु”, उहाँले भन्नुभयो, “नगरपालिकाका मेयर तथा वडाअध्यक्षलाई धेरै धेरै धन्यवाद दिन्छु, सबैभन्दा धेरै धन्यवाद राष्ट्रिय समाचार समितिलाई मेरो तर्फबाट ।”
प्रकाशित मिति : April 26, 2020 at 9:13 am





