४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

पाँचौँ परीक्षणमा काेराेना रिपोर्ट नेगेटिभ आएपछि अन्सुकाे आत्मविश्वासः “म ढुक्क छु, कोरोना जित्छु”

–जमुनावर्षा शर्मा / तारानाथ आचार्य

११ वैशाख, चिप्लेढुङ्गा । बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौँ पटकमा परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बागलुङ नगरपालिका वडा नं ४ कुडुलेकी १९ वर्षीया बेल्जियमबाट गत चैत ४ मा कतार एयरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आउनुभएको थियो । चैत १५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइशोलेशन वार्डमा उहाँ उपचाररत हुनुहुन्छ ।


अस्पतालको २७ दिनको बसाइमा गरिएको पाँचौँ पटकको परीक्षणमा कोरोना नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आएपछि पहिलो पल्ट रासससँग कुरा गर्दै युवतीले भन्नुभयो, “निकै खुशी लागेको छ, अब अर्को परीक्षण पनि पक्कै नेगेटिभ आउँछ भन्ने लागेको छ, आफूभन्दा पछि आउनुभएकी आमा आफूभन्दा छिट्टै सञ्चो भएर जाँदा कताकता मलाई सञ्चो हुन्न कि जस्तो लागेको थियो तर अरु स्वास्थ्य समस्या नभएकाले कोरोना जित्छु भन्ने आत्मविश्वास थियो ।”

उहाँले परिवार, साथीभाइ र चिकित्सकको विशेष निगरानीले आफूलाई कारोना जित्ने हौसला मिलिरहेको बताउनुभयो । आइशोलेशनमा बस्दा उहाँ मोबाइलमा साथीहरुसँग च्याट गर्ने, गीत सुन्ने र टिकटक हेरेर दिन बिताउनुहुन्थ्यो । डा पोखरेलले एकचोटिको परीक्षणको रिपोर्टले मात्र डिस्चार्ज गर्न नमिल्ने भएकाले शुक्रबार पुनः अर्को नमूना परीक्षणका लागि पठाइने बताउनुभयो । “सामान्यतः एक चोटिको रिपोर्ट मात्रै आधिकारिक हुँदैन, पुन दोस्रो पल्टको परीक्षण नतिजापछि मात्र डिस्चार्ज गर्न मिल्छ, ९० प्रतिशत नेगेटिभ नै हुन्छ, अपवादको रुपमा बाहेक अब उनले कोरोनालाई जितेकी छिन् । हामी सबै खुशी छौँ ।”

यसअघि यी युवतीसँगै बेल्जियमबाट बागलुङ आएकी ६५ वर्षीया सोही अस्पतालबाट कोरोनालाई जितेर घर फर्किसक्नुभएको छ ।

प्रकाशित मिति : April 23, 2020 at 7:32 pm