३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

रसुवामा १२ जना क्वारेन्टाइनमा

१० वैशाख, रसुवा । कोभिड–१९ नियन्त्रणका लागि उत्तरी क्षेत्रको स्याफ्रुबेंसी र थाम्बुचेतमा स्थापित क्वारेन्टाइनमा १२ स्थानीय बासिन्दालाई राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार रसुवाबाट काठमाडौँलगायत विभिन्न स्थानमा बसोबास गरी हालै गृह जिल्ला फर्किएका बासिन्दालाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका ती बासिन्दामा गोसाइँकुण्ड गाउँपालिकाका आठ र आमाछोदिङ्मो गाउँपालिका क्षेत्रका चार जना छन् । कुनै पनि मानिस रसुवा प्रवेश गरेपछि १४ दिन सरकारी क्वारेन्टाइन र सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । उहाँहरूलाई १४ दिन क्वारेन्टाइनमा राखी परीक्षण नतिजाका आधारमा घर पठाइने प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा परीक्षण शुरू गरिएपछि जिल्लाभित्र आरडिटीबाट हालसम्म ५३ जनाको कोरोना परीक्षण गरिएको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी शङ्कास्पद तीन जनाको स्वाब परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको बताउँदै उहाँले हालसम्म जिल्लाका कुनै पनि मानिसमा कोरोनाको आशंका नभएको स्पष्ट गर्नुभयो ।

प्रकाशित मिति : April 22, 2020 at 11:06 am