लकडाउनका कारण राेकिएका ठूला आयोजनाको काम पुनः जारी
९ वैशाख, भोजपुर । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहदा धेरै आयोजनाका काम प्रायः ठप्प भएका छन् । यहाँ विभिन्न ठूला आयोजनाको काम सञ्चालन भइरहेको छ । बन्दाबन्दीले गर्दा केही दिन रोकिएका आयोजनाका काम कामदारको सुरक्षालाई पूर्णरुपमा ध्यानमा राख्दै पुनः सञ्चालनमा ल्याएको हो ।
सरकारले महत्वपूर्ण योजना सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामलाई निरन्तरता दिइएको हो । मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजुदरलाई बाहिर जान नदिएको र बाहिरका कसैलाई संलग्न नगराई कोरोना सङ्क्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेश नं १ सरकारको लगानीमा पूर्वाधार विकास कार्यालयअन्तर्गत भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पिखुवा खोलाको पुल, रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावाखोलाको पुल, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने सिक्तेल खोलाको पुल र रामप्रसाद राई गाउँपालिकाको आरीखोलामा बनिरहेको पुलको काम सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै टक्सार–पिखुवा खोला हाइड्रोपावर, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इर्खुवा खोला जलविद्युत् आयोजना, चिर्खुवा खोला जलविद्युत् आयोजनालगायतका काम पनि निरन्तर चलिरहेका छन् । योजनाका काममा सञ्चालनमा रहेका ढुवानीका साधनलाई पासको व्यवस्था गरिएको छ भने कामदारको स्वास्थ्य परीक्षणसँगै कार्यस्थलमा सामाजिक दूरी कायम गरिएको छ । “योजनामा सञ्चालनमा ल्याइएका ढुवानी साधनलाई पास दिएका छौँ, कामदारको स्वास्थ्यको विषयमा हामीले निगरानी गरिरहेका छाँै भने सम्बन्धित निर्माण कम्पनीसँग निरन्तर कुराकानी गरिरहेका छाँै, जसको कारण कामदारलाई कोरोनाको कुनै खतरा छैन” प्रजिअ पुरीले भन्नुभयो ।
योजनाको काममा समस्या नहोस् भनेर इन्धनका लागि पनि प्रशासनले सहजीकरण गरेको छ । मध्ये पहाडी सडक निर्माण आयोजनालगायत अन्य केही योजनाका कामदारहरु भने लकडाउन शुरु भएपश्चात् कामदार घर गएकाले कामले निरन्तरता पाएको छैन ।
प्रकाशित मिति : April 21, 2020 at 2:05 pm





