३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

मासु पसल अनुगमन, उपभोक्ता ठग्ने पसलका तराजु जफत

८ वैशाख, भक्तपुर । भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलका अनुगमन गरेको छ । नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठगी गरेको पाइएपछि तराजु जफत गरेको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको अवस्थामा मासु पसलेले मनपरी मूल्य लिई कालोबजारी गरी राँगोको मासु महँगोमा बिक्री वितरण गरेको, अधिकांश मासु पसल न्यूनतम मापदण्ड नपुगेको पाइएपछि अधिकांश पसलका तराजु जफत गरिएको संयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।

अनुगमनमा सालागणेश मिट सप, बालकुमारी कोल्ड स्टोर, रत्न शाहीको राँगोको मासु पसल, महिमा मिट सप, सुमन मिट सप दर्ता नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, महँगोमा मासु बिक्री र मूल्यसूची नराखेको पाएपछि ती सबै पसलको एक एक थान तराजु जफत गरेको छ ।

अनुगमन गरिएका सबै पसललाई देखिने गरी मूल्यसूची राख्न, कालो बजारी नगर्न, कुखुरा र राँगोको मासु छुट्टै फ्रिजमा राख्न, मासु झिँगा नभन्किने गरी जालीले छोप्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न, पसलमा मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, सफाइमा ध्यान दिन निर्देशन दिएको अनुगमनका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 20, 2020 at 4:54 pm