२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

-शम्भु गजुरेल

अध्यारो पछि
उज्यालो आउछ
भन्थे
आयो पनि
तर
लामो यात्राबाट थकित अनि
लल्याकलुलुक भएछ किरण
ओजोनमा बल्झिएर
बादलमा अल्झिएर
पिल्पिले जुनकीरी जस्तै।

आसमान को गहिराई बाट
हुत्तिएर धर्तीमा पोखिन खोज्दा
वायुमण्डलको कोमल पटलमा
हुइकिदै गरेका रकेट
गर्जिदै गरेका विमान
सुइकिदै गरेका ग्लाइडर
बर्बराउदै गरेका चोपरहरू
इर्ष्या र द्वैषको चक्रव्यूहमा
घुमेर
बाटो छोकिदिन्छन् उज्यालोको।

आठ पलको बाटोमा
श्रीपेचको धमक
भारदार र भरौटेको भभक
सुसारे को सुम्सुम
नन्दीको नखरा
झेल्दै
ओढारको राउटे
खोलाको माझी
डाँडाको कटुवाल
भट्टाका मजदुर
मण्डीका भरियाका ढाडमा
एक झुल्को उज्यालो छर्न
दौडिदै गर्दा
गुलामीको खुदोमा चपक्क
चोपेको औलो चुसेर
मख्ख परेका हनुमान
अरिंङ्गाल को अण्डाको तामसले
मातेर
राप र ताप सहित
दिवाकर निल्दैछन सुलुक्क
डकार समेत पचाएर।

घोर अन्धकारमा
भुत प्रेत पिचाश
डंकिनीहरूको त्रास
खुंखार हिस्रक जन्तुको भय
कालोमा नाँच्ने महामारी
तुच्छ ठानेर
दोब्रीदै गरेको उदर
सुक्दै गएको घाटी
आफन्तको दर्शनका खातिर
उत्सुक आखाहरू
भौतारिदै छन
रौरवपथमा !
खलीमा नाच्दै गरेको झाक्री जस्तै।

अग्ला महलको गुम्बज
कुर्सीको सेरोफेरो
पाखुराको गोलाइ
भुडिको ओढार
कोटको कलर
गहनाको परावर्तनमा
अल्झिएर
जमिनमा पुग्न नसकेको सूर्य
सुर्यको ज्योतिको पर्खाइमा
भौतारिएका सुदामाका पैतालामा
गौडै पिच्छे बसेका
चित्रगुप्त हरू नयाँ नयाँ
सजाय लेख्दैछन
गुमनाम प्रेतात्मा बनाएर
भट्काउने योजनामा।

बेलकोटगढी, नुवाकोट ।

प्रकाशित मिति : April 16, 2020 at 10:26 am