आशिका तामाङ भन्छिन्, ‘नेपाल र नेपालीको इज्जत जोगाउन विदेशीसँग विवाह गरेँ’
५ साउन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य आशिका तामाङले आफूले विदेशीसँग विवाह गर्नुको कारण फेसबुकबाट सार्वजनिक गरेकी छिन । उनले फेसबुक लामो टिप्पणी राख्दै कुस्मा बुढाथोकी नामको नेपाली साथीले विवाह गर्ने भनेर जर्मन नागरिक थोमससँग १ लाख २८ हजार युरो लिएर नेपाल आएको तर विवाह नगरेको बताउँदै त्यसपछि नेपाल र नेपालीको इज्जत जोगाउनका लागि आफूले नै थोमसँग विवाह गरेको बताएकी हुन ।
यस्तो छ आशिकाको टिप्पणी
कुस्मा बुढाथोकीजी,
तपाईंले “म आशिका तामाङलाई चिन्दिनँ” भन्नुभएको कुरा सार्वजनिक रूपमा आएको देखेँ। त्यसैले केही तथ्य सार्वजनिक रूपमा राख्न आवश्यक भएको छ। आजभन्दा करिब १७ वर्षअघि जर्मनीमा हाम्रो पहिलो भेट भएको थियो। त्यसबेला तपाईंले थोमससँग विवाह गर्ने प्रतिबद्धता व्यक्त गरी उहाँबाट १ लाख २८ हजार युरो लिएर नेपाल फर्कनुभएको थियो। त्यसपछि उक्त घटनाका कारण थोमस नेपालस्थित जर्मन दूतावाससम्म पुगेर कानुनी प्रक्रिया अघि बढाउने प्रयासमा हुनुहुन्थ्यो।
त्यस समयमा एउटा व्यक्तिको घटनाका कारण अन्य नेपालीहरूलाई जर्मनी जान वा नेपाली समुदायलाई नकारात्मक असर पर्न सक्ने चिन्ताले मैले नै थोमससँग विवाह गरी परिस्थिति साम्य बनाउने प्रयास गरेँ। त्यसपछि मैले त्यो आर्थिक विषयलाई विगतको कुरा ठानेर अघि बढेँ। मेरो श्रीमानले पनि त्यसलाई त्यहीँ समाप्त भएको मानेका थिए।

तर पछिल्लो समयमा अर्को नेपाली युवकलाई विवाहको आश्वासन दिँदै सँगै बस्ने, आर्थिक लाभ लिने र पछि अर्को व्यक्तिसँग अमेरिका गएको भन्ने गम्भीर विवरणहरू सार्वजनिक भएपछि यो कुनै एकपटकको घटना मात्र नभई दोहोरिँदै आएको व्यवहार रहेछ भन्ने देखियो। त्यसपछि कानुनी प्रक्रिया अगाडि बढाउनु मेरो बाध्यता बन्यो।
म यो कुरा स्पष्ट गर्न चाहन्छु कि यो कुनै व्यक्तिगत प्रतिशोध होइन। म नेपालको सङ्घीय संसद्को सदस्य मात्र होइन, नेपालको संविधान र प्रचलित कानुन पालना गर्ने एउटा जिम्मेवार नागरिक पनि हुँ। नेपालको संविधानले कानुनको शासन र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति गरेको छ। त्यसैअनुसार कसैले ठगी वा अन्य गैरकानुनी कार्य गरेको देखिएमा सम्बन्धित निकायमा उजुरी गर्नु, प्रमाण प्रस्तुत गर्नु र कानुनी प्रक्रियालाई सहयोग गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, जिम्मेवारी पनि हो।
मैले कसैको चरित्रहत्या गर्ने उद्देश्यले कहिल्यै मिडियाबाजी गरेको थिइनँ। बरु धेरै वर्षसम्म मौन बसेँ। तर जब आफूले तिर्नुपर्ने दायित्वबाट पन्छिन, तथ्यलाई तोडमोड गर्न र मेरो चरित्रमाथि नै प्रहार गर्ने उद्देश्यले लगातार भ्रमपूर्ण प्रचारप्रसार सुरु गरियो, तब सत्य सार्वजनिक गर्नु मेरो बाध्यता बन्यो।
म कसैलाई पूर्वाग्रहका आधारमा दोषी ठहर गर्न खोजेको छैन। अन्तिम निर्णय अदालत र कानुनी निकायले गर्ने हो। तर प्रमाण हुँदाहुँदै अन्यायलाई मौन समर्थन गर्नु पनि गलत हुन्छ।
मेरो उद्देश्य एउटै हो, कुनै पनि व्यक्ति भविष्यमा यस्तै घटनाको पीडित नबनोस्, कानुन सबैका लागि समान रूपमा लागू होस् र न्यायको शासन स्थापित होस्। म सत्य, प्रमाण र कानुनी प्रक्रियामाथि विश्वास गर्छु। त्यसैले यो विषय पनि कानुनकै बाटोबाट अन्तिम निष्कर्षमा पुग्नेछ।
धन्यवाद।

प्रकाशित मिति : July 21, 2026 at 7:48 am





