दीपक भट्टसँग मिलेर सेयर बजारका लगानीकर्ता ठग्ने मृगेन्द्रनाथ रिमाल पक्राउ
७ साउन, काठमाडौँ । विचौलिया दीपक भट्टसँग मिलेर लगानीकर्ता ठग्ने नेपाल माइक्रोइन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार रिमललाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरका फरार प्रतिवादीको रूपमा पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता अनुपम शम्शेर राणाले रिमाललाई सिफलबाट पक्राउ गरेर अदालतमा उपस्थित गराएको जानकारी दिएका छन । हिमालय रिइन्स्योरेन्सको नाममा भएको सेयर बजारको इन्साइडर ट्रेडिङमा रिमालले नेपाल माइक्रोइन्स्योरेन्सको दुरूपयोग गरेका थिए ।
यस्तो छ घटनाक्रम
बिमा कम्पनीको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ रकम व्यक्तिगत सम्पत्ति सरह प्रयोग गरी, कृत्रिमरूपमा बजार प्रभावित पारी र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मार्फत सर्वसाधारण लगानीकर्ताको हितविपरीत कार्य गरेको पुष्टि भएपछि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका रिमालसहितको विरूद्धमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्स मार्फत लगानीकर्ताको हितविपरीत करोडाैँ रकम दुरूपयोग गरेको अभियोगमा अध्यक्ष आशिष श्रेष्ठ, डाइरेक्टरहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहालसहित प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र सुजल मल्लसमेतलाई १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो कायम गरिएको छ । उनीहरूले बिमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर गरेको र बिमा ऐन, २०७९ को दफा १४१ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको छ ।
यसै मुद्दामा सुलभ अग्रवाललाई ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ र दीपक भट्टलाई २ अर्ब ८९ करोड २० लाख रुपैयाँ, शुभी अग्रवाललाई ६२ करोड ९० लाख रुपैयाँ, राजबहादुर शाहलाई ८९ करोड ७१ लाख रुपैयाँ र ऋषिराज मोरलाई २३ करोड १ लाख रुपैयाँ बिगो माग गरिएको छ ।
प्रकाशित मिति : July 23, 2026 at 1:53 pm





