र्यापिड टेस्टमा एकै दिन पाँच जना नयाँ कोरोना संक्रमित देखिए
२ वैशाख, काठमाडाैँ । र्यापिड टेस्टमा एकै दिन पाँच जना नयाँ कोरोना संक्रमित देखिएका छन । सरकारले पछिल्लो समय विदेशबाट अाएका नागरिकहरूको र्यापिड टेस्टबाट कोरोनाको परीक्षण सुरू गरेपछि मंगलबार मात्रै पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । यद्यपी उनीहरूको थ्रोड स्वाब लिएर पिसिअार मेसिनमा कोरोना परीक्षण गर्न बाँकी रहेको छ ।
पछिल्लो समयमा सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेका छन् । र्यापिड टेस्ट गर्दा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना रहेका छन् । आठ जनाको समूहमा जमातमा सहभागी उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गर्दा २ जनामा पोजेटिभ पाइएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजित कुमार झाले बताएका छन ।
यस्तै काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा १/१ जनामा र्यापिड टेस्टमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । बेथान्थोक गाउँपालिका(५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनि चैत ९ गते भारतबाट नेपाल आएका थिए । भारतबाट बेथान्चोक गाउँपालिमा चैत १ गते पछि २२ जना फर्किएका छन् ।

त्यस्तै मण्डन देउपुर नगरपालिमा ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनि चैत ७ गते दुबईबाट नेपाल आएका थिए । उनलाई २२ दिन क्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उनलाई थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ ।
काभ्रेका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना जनामध्ये आजसम्म १ सय ९१ को परिक्षण गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिवडा। नरेन्द्रकुमार झाले जानकारी दिए ।
यस्तै, धादिङमा पनि १ जनामा कोरोनाको संक्रमण देखिएको छ । धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोनाको लक्षण देखिएको हाे । दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका एक जनामा आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो।
विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो। २७ वर्षीय ती युवालाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए। गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आउने सबैको हरुलाई सबै गाउँपालिकामा र्यापिङ टेस्ट सुरु गरिएको छ। मंगलबार मात्रै ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो।
प्रकाशित मिति : April 14, 2020 at 10:23 pm





