अहिले पनि दैनिक एक दर्जन शल्यक्रिया भैरहेको छ, बिरामी फर्काएका छैनाैँः डा सन्तोष पाैडेल
२ वैशाख, काठमाडाैँ । सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिइनै रहेका छन् । कोरोना भाइरस सङक्रमण बढ्दै गएको अवस्थामा उपचारका लागि तयारीसहित अत्यावश्यक स्वास्थ्य सेवालाई अस्पतालले जारी राखेका हुन् । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा.सन्तोष पौडेलका अनुसार, ट्रमा सेन्टरमा अहिले पनि दैनिक एक दर्जन अत्यावश्यक शल्यक्रिया भइनै रहेका छन् । दुई चार महिनापछि शल्यक्रिया गर्दा पनि हुने जोर्नी, नशा च्याप्पिएका, ट्युमरलगायत ‘केस’ बाहेक ‘इमर्जेन्सी’ सेवा समेत चालु रहेको छ । बहिरंग सेवाचाहिँ बन्द रहेको छ ।
उहाँका अनुसार, छत, रुख, भीरबाट खसेर घाइते भएकाहरुको ‘केस’ इमर्जेन्सीमा दैनिकजसो आइनै रहेका छन् । विगतको तुलनामा ८० प्रतिशत विरामी इमर्जेन्सीमा आइनै रहेको जनाइएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा वार्ड, आइसीयू, पोस्ट अपरेटिभ वार्ड, इमर्जेन्सीगरी दुई सय बेड छन् । अस्पतालमा अहिले पनि ९१ विरामी उपचारका क्रममा रहेका छन् ।
अस्पतालमा ३० वटा इमर्जेन्सी छ । नौ वटा पोस्ट अपरेटिभ वार्ड रहेको छ । अहिले पनि दैनिक ३० वटा बेडमा इमर्जेन्सीका विरामी आउने गरेको डा.पौडेलले जानकारी दिनुभयो । दैनिक चार सयले सेवा लिंदैआएको बहिरंग सेवा अहिले बन्द अवस्थामा छ । ११ वटा आइसीयू कक्ष रहेका छन् । आवश्यक परेमा ‘हाई डिपेन्डेन्सी’ आठ वार्डलाई आइसीयूमा बदल्न सकिने डा.पौडेलले जानकारी दिनुभयो ।

कोरोना उपचारको तयारी यस्तो छ
कोरोना भाइरस सङ्क्रमणको महामारी अवस्था आएमा ट्रमा सेन्टरलाई पनि कोरोना उपचारका गर्ने ‘डेडिकेटेड’ अस्पतालमा रुपान्तर गर्ने योजना सरकारको छ । सो अनुसार अस्पतालले तयारी र योजना बनाएको छ । अस्पतालले ‘स्क्रिनिङ’ सेवा सुरु गरिसकेको छ । अस्पतालमा आएकाको ‘ट्राभल हिस्ट्री’ लिने, ज्वरो नाप्ने, कोरोना सम्बन्धी फर्म भराउने कार्य थालिएको छ ।
सेन्टरका प्रमुख डा.पौडेलका अनुसार, अस्पतालको इमर्जेन्सीमा छ वेडको आइसोलेसन समेत तयार पारिएको छ । कोराना सङ्क्रमणको शंकास्पद तीन जनाको स्वाब सङ्कलन गरी परीक्षण समेत गरिएको जनाइएको छ । वार्डमा समेत चार वेडको आइसोलेसन बनाइएको छ । तत्कालको लागि स्वाब परीक्षण पोजेटिभ देखिएमा ‘डेडिकेटेड’ अस्पतालमा पठाइने जनाइएको छ ।
सेन्टरका प्रमुख डा.पौडेलले ट्रमा सेन्टरलाई कोरोना उपचार गर्ने ‘डेडिकेटेड’ अस्पतालमा तत्कालै रुपान्तरण गर्न सकिने गरी तयारी गरिसकिएको बताउनुभयो । उहाँका अनुसार, उपचारका लागि चिकित्सकको ‘रोष्टर’ तयार गरिसकिएको छ । तत्कालै ५० वेड कोरोना उपचारमा रुपान्तरण गर्न सकिन्छ । अस्पतालले १५ वटा भेन्टिलेटरको जोहो समेत गरिसकेको छ ।
सेन्टरका प्रमुख डा.पौडेलले केही स्वास्थ्य सामग्री र उपकरण सरकारबाट प्राप्त भएको र केही आफैँले जोहो गरेको जानकारी दिनुभयो ।उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा ७० प्रतिशत सेवा धानेको दावी गर्ने निजी क्षेत्रका अस्पताल कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको यो आपतमा कहाँ छन् भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “जनस्वास्थ्यको क्षेत्रमा सरकारी अस्पतालले नै आम सेवा दिइरहेका छन् ।” यो समाचार दीपक श्रेष्ठले गोरखापत्र दैनिकमा लेख्नु भएको छ ।
प्रकाशित मिति : April 14, 2020 at 4:01 pm





