भारतमा रहेका १० जना नेपालीमा कोरोना संक्रमण
२८ चैत, डडेल्धुरा । भारतमा रहेका १० जना नेपालीमा कोरोना भाइसरको संक्रमण भएकाे छ । कामको सिलसिलामा भारतमा बस्दै आएका सुदूरपश्चिमका दुई परिवारका १० जना सदस्यमा कोरोना संक्रमण भएको हो। यसअघि दक्षिण भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोभिड–१९ पुष्टि भएको थियो।
यस्तै भारतको मुम्बई बस्ने एकै परिवारका ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। अछाम चौरपाटी गाउँपालिका–५ लुग्रा स्थाई घर भई मुम्बईमा बसोबास गर्दै आएका ८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो।

अहिले संक्रमित सबको फरक–फरक अस्पतालमा उपचार भइरहेको जनाइएको छ। कोरोना संक्रमण देखिएपनि आठै जनाको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना पुष्टि भएको संक्रमितले सामाजिक संजाल फेसबुकमार्फत पनि सो कुराको बारेमा जानकारी गराएका हुन्।
भारतमा शुक्रबार विहानसम्म २२७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ४९ जनाको मृत्यु भएसँगै २२७ पुगेको हो। भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ। भारतमा संक्रमितमध्ये ६२५ जना उपचारपछि निको भएका छन्। ५ हजार ८६३ जना उपचाररत छन्।
प्रकाशित मिति : April 10, 2020 at 4:35 pm





