१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

काेराेना त्रासः काभ्रेमा क्वारेन्टाइनमा ११, आइसोलेशनमा ६

२४ चैत, काभ्रेपलाञ्चोक । कोभिड–१९ संक्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा विदेशबाट आएका तथा शंकास्पद ११ जनालाई स्थानीय तहका क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरससँग मेलखाने लक्षण भएका ६ जनालाई धुलिखेल अस्पतालको आइसोलेसशन वार्डमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मण्डनदेउपुर नगरपालिकामा एक र धुलिखेल नगरपालिकामा १० जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

 

परीक्षणका क्रममा कोरोना सँग मेलखाने लक्षण देखिएकाहलाई आइतबार धुलिखेल अस्पतालको आइसोलेसशन वार्डमा राखी ‘स्वाव’ लिइसकिएको र सम्भावित उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।विदेशबाट घर फर्किएर मण्डनदेउपुर नपास्थित क्वारेन्टाइनमा बसेका आठमध्ये हाल एक बाँकी हुनुहुन्छ ।

“अन्यलाई स्वास्थ्य परीक्षण गरी कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै पठाइयो, उहाँहरुको स्वास्थ्यकर्मीद्वारा निगरानी भइरहेको छ”, झाले भन्नुभयो । उहाँका अनुसार आइतबार मात्रै धुलिखेलस्थित क्वारेन्टाइनमा एकै गाउँका सात वर्षका बालकसहित १० जनालाई राखिएको हो ।

पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती, कोलाँतीकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि कोरोना भाइरस आशङ्कामा गाउँका १० जनालाई क्वारेन्टाइनमा राखिएको हो । तामाङकी एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताउनुभयो । यसैबीच काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले क्वारेन्टाइन व्यवस्थित गरेका छन् । कार्यालयका अनुसार छ नपा र सात गाउँपालिकामा २६६ शय्याका क्वारेन्टाइन व्यवस्थित भएका हुन् ।

प्रकाशित मिति : April 6, 2020 at 2:41 pm