१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

झापामा खाद्यान्न अभाव हुन नदिन उत्पादन शुरु

२१ चैत, भद्रपुर । झापामा खाद्यान्न अभाव हुन नदिन मेचीनगर–११ मा रहेको सूर्य एग्रो प्रालिले उद्योग सञ्चालन गर्न थालेको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै बन्द गरिएको उद्योगमा मौज्दात रहेको दाल, चालमलगायतका सामग्री सकिएपछि उद्योग खोलेको प्रालिका सञ्चालक सञ्जय मिण्डाले बताउनुभयो ।

फाइल फाेटाे

उहाँले नगरपालिकाको अनुमतिमा घरघरमै गएर मजदुर ल्याएर उद्योग सञ्चालनमा ल्याएको बताउँदै भन्नुभयो, “लकडाउन हुँदा हामीसँग ७५ हजार क्विन्टल चामल र आठ हजार क्विन्टल मुसुरो दाल मौज्दात थियो, मौज्दातमा रहेको सामान सकिएपछि पुनः उत्पादन शुरु गरेका हौँ ।”

दैनिक ५० टन चामल उत्पादन गर्ने क्षमता रहेको उद्योगमा कर्मचारीलाई पालो मिलाएर काम लगाउँदै आएको उहाँले बताउनुभयो । “बजारमा जति चाहिए पनि चामल र दाल उपलब्ध गराउन सक्ने सामथ्र्य हामीसँग छ”, मिण्डा भन्नुहुन्छ, “पहिलो झापा र दोस्रो पहाडी जिल्लामा चामल र दाल पठाउँछौँ ।” उहाँले उद्योगमा लकडाउन एक महिना लम्बिए पनि जिल्लामा खाद्यान्नको अभाव नहुने गरी धान र दाल मौज्दात रहेको बताउनुभयो ।

प्रकाशित मिति : April 3, 2020 at 11:42 am