११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सीमामा अलपत्र नेपाली मजदुर भारतीय क्वारेन्टाइनमा

– विनोदसिंह विष्ट

२० चैत, बैतडी । चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

झुलाघाटस्थित तालेश्वरमा रहेको धर्मशालामा ५७ र खरक्युडा, जामीरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयहरुमा १७० गरेर २२७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिनुभयो । ती सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुको डा सचिनप्रकाश देवल र डा कल्पित रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुका लागि निःशुल्क खानाको व्यवस्था गरिएको पत्रकार भट्टले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरहरुलाई क्वारेन्टाइनमा राखिएको हो । नयाँ वर्षका लागि घर फर्कन लागेका नेपालीहरु लकडाउनका कारण सीमामा अलपत्र परेका छन् । कतिपय नेपालीहरु महाकाली नदीमा ट्युबका माध्यमबाट तरेर नेपाल भित्रिरहेका छन् । भारतबाट नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहहरुले जनाएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी पौडेलले अर्को आदेश नभएसम्म सीमानाका खोल्न नसकिने बताउनुभएको छ । लकडाउनका बेलामा आआफ्नो ठाउँमा सुरक्षित बस्नुपर्ने भएकाले सीमानाका नखुल्दासम्म मजदुरहरुलाई नेपाल भित्र्याउन नसकिने उहाँले बताउनुभयो । यसअघि पनि लकडाउनका बेला झुलाघाट नाका खोली २०२ जनाको उद्धार गरिएको थियो ।

भारतमा अलपत्र नेपालीको बिचल्ली

लकडाउनका कारण भारतका विभिन्न शहरमा अलपत्र परेका नेपाली नागरिकको बिचल्ली भएको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएसँगै भारत सरकारले लकडाउन घोषणा गरेपछि ४०० नेपाली नागरिक अलपत्र परेका हुन् । अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार–८ कालागाँउका डम्बर बिष्टले जानकारी दिनुुभयो ।

बैंग्लोरबाट घर फर्किन भने आएका बैतडीका ५० जना दिल्लीमा १० दिनदेखि अलपत्र परेको उहाँले बताउनुुभयो । “बैंग्लोरबाट रेलमा चढेर घर फर्किँर्दै गर्दा दिल्ली पुुग्दा लकडाउनले रेलसेवा बन्द भयो”, उहाँले भन्नुुभयो, “लकडाउनले रेलसेवा बन्द हुनुुका साथै सम्पूर्ण सवारी बन्द हुुँदा बीच बाटोमै अलपत्र परेका हौँ ।”

लकडाउनमा भारतीय प्रहरीले देख्ने बितिक्कै लखेट्ने गरेको उहाँले दुःखेसो पोख्नुभयो । खान बस्नसमेत निकै समस्या भएको उहाँले बताउनुभयो । भारतस्थित नेपाली राजदूतावासमा उद्धारका लागि गुहारेको भए पनि केही सुनुुवाइ नभएको दोगडाकेदारकै अर्का वीरेन्द्र विष्टले बताउनुुभयो । “दूतावासलाई पनि नेपालसम्म पुर्याउन आग्रह गरिसक्यौँ”, उहाँले भन्नुुभयो, “अलपत्र परेको १० दिन भइसक्दासमेत केही पहल भएन ।”

उनीहरुले आफूहरुको उद्धार गरिए १४ दिनसम्म क्वारेन्टाइनमा बस्न तयार भएको बताएका छन् । अलपत्र परेपछि भएको पैसा सकिएको र अब घर पुुग्नसमेत पैसा नभएको उनीहरुको गुनासो रहेको छ । मजदुरी गरेर घरखर्च चलाउन भारत पसेका युवाहरु काम छुुटेर अलपत्र पर्दा समस्यामा परेका हुन् ।

प्रकाशित मिति : April 2, 2020 at 12:10 pm