११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

काेराेना त्रासः सिरहा कारागारबाट छाडिए २१ कैदीबन्दी

१६ चैत, लहान । कारागारमा ठूलो संख्यामा कोचाकोच गरि कैदीबन्दीलाई राख्दा कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । जिल्ला अदालत सिरहाको आदेशमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर वविता महतोले जानकारी दिनुभयो ।

अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी समयवापतको रकम तिराएर छाड्न दिएको आदेशअनुसार कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताउनुभयो । कुल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिला सहित ५५१ कैदीबन्दी छन् ।

एक जनामा पनि संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिइएको र संक्रमणबाट बच्ने उपायबारे सचेत गराइएको जेलर महतोको भनाइ छ ।

प्रकाशित मिति : March 29, 2020 at 10:01 am