१० असार २०८३, बुधबार | Thu Jun 25 2026

मिनीट्रककाे ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

९ चैत, काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

फाइल तस्वीर

उहाँका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् । एकै परिवारका पति,पत्नी र छोरा सवार रहेका मध्ये घाइते सुनिता श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको र मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : March 22, 2020 at 10:06 am