१० असार २०८३, बुधबार | Thu Jun 25 2026

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन पत्रकार महासङ्घकाे आग्रह

८ चैत, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन,सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले कोरोना भाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ ।

यसैगरी बैठकले नेपालमा सो भाइरसको संक्रमण फैलन नदिन अपनाउनुपर्ने सावधानिबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्वन्धमा महासङ्घका तर्फवाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । यसका लागि महासङघका तर्फवाट सञ्चार माध्यम र पत्रकारको दायित्वका सम्वन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्य, तथ्य सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्र्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत बैठकले गठन गर्ने निर्णय गरेको छ ।

सो समितिमा अध्यक्ष गोविन्द आचार्य,उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहनुभएको छ । बैठकले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्ने उपाय सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्न आम सञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : March 21, 2020 at 5:38 pm