१० असार २०८३, बुधबार | Thu Jun 25 2026

युवा पनि कोभिड-१९ को उच्च जोखिममाः डब्लूएचओ

८ चैत, काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवा पनि कोभिड-१९ (कोरोना)को उच्च जोखिममा रहेको बताएको छ । कोरोना भाइरसको जोखिममा युवा पनि रहेको भन्दै डब्लूएचओले सचेत हुन सुझाव दिएको हो । विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा बुढाबुढीको ज्यान गएको पाइएपछि सतर्कता नअपनाएको पाइएकाले संगठनले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो ।

बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको हो । अध्ययनले कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको संक्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी बढी जोखिममा रहेका देखाएको छ । कोरोना भाइरस संक्रमित ११ हजारभन्दा धेरै मानिसको स्वासप्रश्वासका कारण ज्यान गएको पाइएको छ ।

डब्लूएचओको सरुवा रोगसम्बन्धी विज्ञ डाक्टर मारिया करकोभले कोरोना भाइरसबाट जोगिन मानिसबिच सामाजिक दूरी नभई व्यक्तिबिचको दूरी बढाउन आग्रह गरेका छन । यो बेलामा शाररीक समस्याभन्दा पनि मानसिक समस्या पिडादायी हुने भन्दै उनले सामाजिक सञ्जालको माध्यमबाट सम्पर्कमा रहन सुझाव दिएका हुन ।

अहिलेसम्म विश्वका १ सय ८५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा गरी २ लाख ७५ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् भने १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन् । ११ हजार ३ सय ७० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : March 21, 2020 at 8:41 am