तल्लोसोराडमा भारतसँग जोडिएका नाका बन्द
७ चैत, बैतडी । विश्वभरि कोरोना भाइरसको त्रास फैलिरहेका बेला बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाकाघाट बन्द गरिएका छन् । शिवनाथ गाउँपालिकाको नागार्जुनघाट र कुस्मौदघाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वरघाट, विनायकघाट र धरमघाट बन्द गर्ने निर्णय भएको हो ।
गत फागुन २९ गते बसेको बैठकले शिवनाथ गाउँपालिका–१ र पञ्चेश्वर गाउँपालिकाका–३ घाट बन्द गर्ने र अरु घाट सञ्चालनमा ल्याउने निर्णय गरेको भए पनि खुला राख्ने निर्णय भएको थियो । खुला राख्ने घाटमा पनि उपकरणको व्यवस्था गर्नसक्ने अवस्था नभएपछि घाट बन्द गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको विश्वव्यापी सङ्क्रमणको जोखिम हेरर हामीले गाउँपालिकासँग जोडिएका सबै घाट बन्द गर्ने निर्णय गरेका छौँ । यो निर्णय कार्यान्वयनमा सबै सरोकारवालालाई आग्रहसमेत गरेका छौँ ।”

बिहीबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले घाट बन्द गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । यसका साथै कोरोनाको सङ्क्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताउनुभयो ।
यस्तै पञ्चेश्वर गाउँपालिकाको पनि बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकासँग जोडिएका घाट बन्द गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “डुङ्गा तथा ट्युबबाट महाकाली नदी वारपार गर्ने सबै घाट बन्द गर्ने निर्णय गरेका छौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यो निर्णयमा पुगेका हौँ ।” घाट बन्द गर्ने निर्णयमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रहसमेत गरेको उपाध्यक्ष भट्टले जानकारी दिनुभयो ।
झुलाघाट नाकामा सहायता कक्ष थप व्यवस्थित
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाइएको छ । हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक पोशाकको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम कम होस् भनेर पोशाकको व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एक हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिनुभयो । भारतबाट नेपाल फर्किने नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र फर्किनसमेत आग्रह गरिएको उहाँले बताउनुभयो । झुलाघाटमा गत फागुन १० गतेदेखि हेल्थ डेस्क सञ्चालनमा छ ।
पूजाआजा
कोरोनाको सङ्क्रमण नहोस् भनेर बैतडीका विभिन्न मठमन्दिरमा पूजा भाकल गरिएको छ । कोरोनाको महामारी संसारभर फैलिरहेका बेला त्यस्तो नहोस् भनेर पूजा भाकल गरिएको निङ्लाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिनुभयो । चैत्राष्टमीको दिन भगवतीको मन्दिरमा सामूहिक पूजाआजा गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
यस्तै सुर्नया गाउँपालिका–१ स्थित हटैराज र श्रीकेदार मन्दिरमा पनि सामूहिक पूजाको तयारी भएको वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । सङ्कट परेको बेला देवीदेवताले सहयोग गर्छन् भन्ने धार्मिक विश्वासका आधारमा सामूहिक पूजा गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : March 20, 2020 at 3:29 pm









