१० असार २०८३, बुधबार | Thu Jun 25 2026

काेराेनाबाट बच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ

७ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिनुभयो । “ यससँग जुध्न मनोबल बलियो बनाऔँ”, उहाँले भन्नुभयो, “विश्वभरि लोकप्रिय बन्दै गएको ‘नमस्ते’ नेपाली मौलिक अभिवादनमा जोड दिउँ ।”

कोरोनाबारे सचेतना, रोकथाम, अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने उपकुलपति प्राडा सिंहले बताउनुभयो । विश्वविद्यालयको जनशक्तिलाई नागरिकस्तरमा सचेतना जगाउनका साथै अनुसन्धानमा जोड दिन निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ फिजिसियन डा केएन पौडेलले कोरोनाबाट बच्न रुघाखोकी लागेका मान्छेबाट दुई÷तीन मिटर टाढा बस्न सुझाउनुभयो । “हातमुख राम्रोसँग धुनु, अनावश्यकरूपमा घरबाट बाहिर ननिस्कनु पनि यो रोग लाग्नबाट बच्ने उपाय हो”, उहाँले भन्नुभयो, “धेरै भीडभाड गर्ने र हात मिलाउने काम पूर्णरुपले बन्द गर्न सके हामी यो रोग सङ्क्रमण हुने समस्याबाट बच्छौँ ।”

प्रकाशित मिति : March 20, 2020 at 10:35 am