२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

प्रसुतीगृहको सेवामा सुधारः “पहिला बोलाउँदा झर्को मान्थे, रिसाउँथे, अहिले मीठो, राम्रो बोल्छन्”

७ चैत, काठमाडाैँ । सरकारले एकै स्थलमा २५ जनाभन्दा बढीको भीडभाड नगर्न निर्देशन दिए पनि बिहीबार दिउँसो प्रसूतिगृह, थापाथलीमा बिरामीको ठूलै भीड थियो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि बुधबार मात्र सरकारले भीडभाड नगर्न निर्देशन दिएको हो ।

कोरोनाबाट बच्न सरकारले सावधानी अपनाउन सतर्क गराए पनि अस्पताल परिसरमा यसको अनुभव हुन सकेन । यहाँ यसका लागि उपयुक्त व्यवस्थापन हुन सकेको छैन । कहीँ कतै पनि हात धुन साबुन पानीको व्यवस्था गरिएको छैन । अस्पतालमा भेटिनुभएकी कुरुवा लक्ष्मी लामाले भन्नुभयो, “हात धुने ठाउँ छैन, पानी छैन । भीडभाड छ । कोरोनाको डर छ । कतिन्जेल बस्ने यसरी ?”

परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालका निर्देशक प्राडा जगदीश्वर गौतमले हात धुने र सूचनामूलक सामग्री ठाउँठाउँमा राख्न बुधबार नै आवश्यक तयारी भएको जानकारी दिनुभयो । उहाँले बिहीबार यसको व्यवस्थापन भइसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “धारा फिट गर्दैछौँ । हात धुने व्यवस्था पनि गर्छौं ।” शौचालयमा पनि सरसफाइको कमी देखिन्छ ।

शौचालयका कतिपय ढोकाका चुक्कुल फुस्किएका छन् । पर्याप्त मात्रामा सरसफाइ भएको छैन । कोरोनाको महामारीले धेरैतिर बन्द भए पनि प्रसूतिगृहमा बिरामीको चाप कम हुन सकेको छैन । विशेष गरी यहाँ सुत्केरी हुन, गर्भवती र स्त्रीरोगको उपचारका लागि आउने गर्छन् । यहाँ विशेष अवस्थाका बिरामी आउने हुँदा सङ्ख्या कम हुनसक्ने देखिँदैन । निर्देशक गौतमले प्रसूतिगृहको सेवा रोक्ने र बिरामी फर्काउन सक्ने अवस्था नभएको बताउनुभयो ।

भिडियो एक्सरेका लागि कम्तीमा एक हप्तासम्म पालो कुर्नुुपर्ने अवस्था छ । अस्पतालामा जँचाउन आएका बेला समय लिएर मात्र पालो पाइन्छ । भिडियो एक्सरे गर्न पालो कुरिरहेकी २३ वर्षीया सुनिता परियारले भन्नुभयो, “छ/सात दिनमा मात्र पालो आउँछ रे ।” प्रसूतिगृहबाट औसतमा दैनिक साढे ६६५ जनाले सेवा लिने गरेका छन् । वार्षिक दुई लाखले सेवा लिने गर्छन् । सेवा लिनेको सङ्ख्या बढ्दो छ । निर्देशक गौतमले पाँच वर्ष अघिभन्दा अहिले सेवा लिनेको सङ्ख्या दोब्बर रहेको बताउनुभयो ।

दैनिक ६० जनाभन्दा बढी सुत्केरी हुने गरेका छन् । गत वर्ष मात्र प्रसूतिगृहमा २२ हजार १४७ जना सुत्केरी भएका थिए । यो वर्षको पहिलो छ महिनामा १२ हजार छ सय जना सुत्केरी भइसकेका छन् । त्यसैगरी यहाँ वार्षिक २० हजारले इमर्जेन्सी सेवा लिइरहेका छन् । पाँच सय बेडको प्रसूतिगृह वार्षिक २५ हजारसम्म बिरामी धान्न सक्ने अवस्थामा रहेको गौतमले बताउनुभयो ।

जटिल सुत्केरी, गर्भवती र स्त्रीरोगका बिरामीलाई देशभरबाट यहाँ सिफारिस गर्ने गरिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुत्केरी हुने क्रममा जोखिममा रहेकालाई हेलिकोप्टरबाट उद्धार गरी ल्याउने गरेको छ । यसरी ल्याइएकालाई पनि यहाँ नै सेवा दिने गरिएको छ ।

प्रसूतिगृहमा विशेष सुविधा
यहाँको उपचार निःशुल्क छ । निःशुल्क उपचार सेवा लिएर घर फर्कंदा यातायात खर्चसमेत पाइन्छ । गर्भवती अवस्थामा चार पटकभन्दा बढी जँचाउन र यहाँ नै सुत्केरी हुनेले फर्कंदा दुई हजार आठ सय रुपियाँ यातायात खर्च पाउँछन् । यसैगरी सुत्केरी मात्र भएकाले दुई हजार यातायात खर्च पाउँछन् । दुई दिनअघि बच्चा जन्माएर घर जान लाग्दा मुड्खु काठमाडौँकी रीतु तामाङ यातायात खर्च बुझिरहनुभएको थियो ।

उहाँले भन्नुभयो, “साथीले भनेर पैसा पाउँछ भन्ने थाहा पाएको हो, खुसी लागेको छ ।” यहाँ सञ्चालित सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत कतिपय औषधि निःशुल्क दिइन्छ । त्यहाँ नपाइने औषधि मात्र बाहिरबाट किन्नुपर्ने हुन्छ । अस्पतालमा रहेको ब्लड बैङ्कको सेवाले बिरामीलाई निकै राहत भएको छ ।

बिरामीको भर्ना र डिस्चार्जका लागि विद्युतीय प्रणाली प्रयोग गरिएको छ । यसका कारण सेवाग्राहीको सम्पूर्ण रेकर्ड विद्युतीय प्रणालीमै रहन्छ । अनलाइन टिकट र टोकनको व्यवस्था गरिएको छ । यहाँ गर्भवती, सुत्केरीलगायत स्त्रीरोगसम्बन्धी सम्पूर्ण उपचार गरिन्छ । पाठेघरको सम्पूर्ण उपचार, आङ खसेको बिरामीलाई निःशुल्क उपचार गरिन्छ । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको सुविधा पनि छ । निर्देशक गौतमले नेपालमा पहिलोपटक यहाँबाट यो सेवा सुरु भएको बताउनुभयो । पाँच वर्षदेखि यो प्रविधिको प्रयोग प्रसूतिगृहमा गरिएको हो ।

यहाँ बच्चाका लागि ४० र आमाका लागि १० वटा आईसीयू छ । दूरविनबाट ल्याप्रोस्कोपी गर्ने सुविधा पनि यहाँ छ । यसैगरी १४ वर्षसम्म बालबालिकाको उपचारको व्यवस्थासमेत गरिएको छ । यहाँ ७० जना मान्छे अट्ने कुरुवाघर छ । सेवाग्राहीका लागि तातो र चिसो पानीको व्यवस्था गरिएको छ ।

अस्पतालका असुविधा
अस्पतालमा सुविधा हुँदाहुँदै पनि केही असुविधा व्यवस्थापन गर्न अप्ठ्यारो भएको छ । अस्पतालमा एमआरआई मेसिन नहुँदा बिरामीलाई बाहिर पठाउनु परेको छ । गौतमले भन्नुभयो, “भौतिक सुविधा बढाउनु पर्नेछ । ठाउँको अभाव छ । कर्मचारी सबै अस्थायी छन् । गाह्रो भएको छ तर पनि बिरामी पठाउने ठाउँ छैन ।” जम्मा ६५० कर्मचारीमध्ये नेपाल सरकारको स्थायी दरबन्दीमा ६८ जना मात्र छन् । बाँकी कर्मचारी विकास बोर्डले नियुक्त गरेको छ ।

सुधार हुँदै प्रसूतिगृह
सिन्धुलीकी ईश्वरा चौहानले पहिलेभन्दा अस्पतालमा सुधार भएको अनुभव गर्नुभयो । उहाँले दुईवटा सन्तान यही अस्पतालमा जन्माउनुभएको हो । देउरानीको स्याहार गर्न अस्पताल आएकी उहाँ आठ÷दस जना आफन्तलाई स्याहार्न यही अस्पतालमा बस्नुभएको छ । उहाँले भन्नुभयो, “प्याड जहाँतहीँ फालिएको हुन्थ्यो, कपडा सुकाउने ठाउँ थिएन । अहिले त धेरै सुविधा हो । सफा राम्रो लाग्यो । पहिलाभन्दा शौचालय पनि राम्रो लाग्यो ।”

अङ्गिता थापाले छ वर्षपहिले बच्चा जन्माउन आउँदाको भन्दा यस पटक डाक्टर र नर्सको राम्रो व्यवहार पाएको अनुभव गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिला बोलाउँदा झर्को मान्थे, रिसाउँथे । अहिले मीठो, राम्रो बोल्छन् ।” सुत्केरी व्यथा लाग्दा श्रीमान्सँग बस्न पाएको खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “श्रीमान्सँग बस्न पाउँदा आड हुँदो रैछ ।” यो समाचार सीता शर्माले गोरखापत्र दैनिकमा लेखेकी छिन । 

प्रकाशित मिति : March 20, 2020 at 7:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/