१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

महसुुल भुक्तानी र रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न टेलिकमको अनुरोध

६ चैत, काठमाडाैँ । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महसुुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न पनि कम्पनीले ग्राहकवर्गमा आह्वान गरेको छ ।

कम्पनीका सेवाहरुको महसुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहकसेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहजरूपमा महसुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गरेको छ । भुक्तानीका वैकल्पिक उपायहरुमा रिचार्ज कार्ड, इलेक्ट्रोनिक भुक्तानी (एमपोस), कम्पनीको वेबसाइट www.ntc.net.np तथा मोबाइल एप्लिकेसन, ई–बैँकिङ, ई–कमर्स तथा मोबाइल बैंकिङ र कुनैपनि बैंको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने व्यवस्था गरिएको कम्पनीले उल्लेख गरेको छ ।

उक्त भाइरसबाट हुनसक्ने सम्भावित सङ्क्रमण र सोबाट सुरक्षित रहन तथा सङ्क्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्तदुरुस्त राख्न सबै प्रयत्न जारी राख्ने र ग्राहकवर्गलाई स्वस्थ्य र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा÷इन्टरनेट आदि सेवा उपयोग गर्न अनुरोध गरेको छ । कम्पनीले मुलुकको आवश्यकता र ग्राहकवर्गको सुविधाका लागि कम्पनीले कुनैपनि विषम परिस्थितिमा सम्भव भएसम्म सबै प्रयास जारी राख्ने व्यहोरा पनि ग्राहकवर्गमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार २२:५७