१० असार २०८३, बुधबार | Wed Jun 24 2026

स्कुल तथा कलेज चैत मसान्तसम्म बन्द गर्ने लगायत यस्ता छन् सरकारले गरेकाे १५ निर्णय

५ चैत, काठमाडौँ । सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । चैत ६ गते हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।

कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन । कोभिड १९ नामक कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी रुपमा फैलिरहेका वेला सरकारले यो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो ।

समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो । चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो । बैठकले सिनेमा हल पनि बन्द गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : March 18, 2020 at 5:13 pm