कोरोना नियन्त्रणका लागि सरकारलाई राष्ट्रिय चिकित्सक संघको ७ बुँदे सुझाव
४ चैत, काठमाडाैँ । राष्ट्रिय चिकित्सक संघले सरकारलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ७ बुँदे सुझाव दिएको छ । संघको प्रतिनिधि मण्डलले कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग मंगलबार भेटगरी अस्पतालको भीडभाड कम गर्दै सम्पूर्ण अस्पताललाई तयारी अवस्थामा राख्न सुझाव दिएको छ ।
प्रतिनिधि मण्डलले अस्पतालको भीडभाड तत्काल रोक्दै कोरोना भाइरसको प्राथमिक नमूना संकलन केन्द्र अन्य अस्पतालमा समेत तोक्न आग्रह गरेको संघकी सदस्य डा रक्षा श्रेष्ठले जानकारी दिइन । उनले उपप्रधान तथा रक्षामन्त्री पोखरेलले चिकित्सहरूको सुझाव गम्भीर रूपमा लिएको जानकारी दिइन ।

उपप्रधानमन्त्री पोखरेलले सुझाव सकारात्मक रूपमा ग्रहण गरेको र सरकारले यी सबै कामलाई ध्यान दिएर आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । संघकी सदस्य श्रेष्ठले भीड़ नियन्त्रणलाइ मध्यनजर गरेर यही शनिवार हुन गईरहेको चिकित्सकको लाइसेन्स परीक्षा नेपाल मेडिकल काउन्सिलले स्थगित गरेको पनि जानकारी दिइन ।
यस्ता छन ७ सुझाव
१ भीड़ नियन्त्रण-अन्य ठाउँको भीड़ रोकथाम जस्तै अस्पतालमा अति आवश्यक बाहेक अन्य रूटिन चेक जाँच या फलो अपको लागि आएर भीड़ भाड़ नगर्ने ।
२. एनपीएचएल ल्यावमा पनि रूटिन चेक जाँच, अन्य टेस्ट नगर्नु र अहिले करोनाको टेस्ट मा मुख्य फोकस गर्नुपर्ने ।
३. स्वस्थ्यकर्मीहरूले उपचार गर्दा उनीहरूलाई संक्रमणको बढी जोखिम हुनाले प्रसनल प्रोटेक्टिभ इक्युपमेन्ट र फेस मास्क उपलब्ध गराउनुपर्ने ।
४. नमुना संकलन केन्द्र बिभिन्न अस्पतालमा राखिनु पर्ने । करोनाको आशंका भएको बिरामीलाई टेकू पठाऊदा त्यहाँसम्म पुग्दा बाटोमा अरुलाई पनि संक्रमण गर्ने सम्भावना भएकोले नमुना संकलन केन्द्र बिभिन्न अस्पतालमा राखेर नमुनामात्र टेकू पठाऊने व्यवस्था गर्नु पर्ने ।
५ टेकूमा परीक्षण हुने जस्तो ल्याव सबै प्रदेशमा स्थापित गर्नुपर्ने ।
६. केही समयको लागि विमानस्थल र स्थलमार्ग दुबै बन्द गर्नुपर्ने ।
७. संक्रमणको आशका भए बिरामीको सबै परीक्षण गर्नुपर्छ र त्यसका निम्ति सरकारले पर्याप्त किट उपलब्ध गराउनुपर्छ ।
प्रकाशित मिति : March 18, 2020 at 12:02 am









