१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल पूनर्बीमा कम्पनीको डेढ अर्बभन्दा बढीको आईपीओमा आजदेखि खुला

४ चैत, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आजदेखि डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्न लागेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

गत आर्थिक वर्षको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १४ रुपैयाँ २ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ५८ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९५ पैसा कायम हुने प्रक्षेपण गरेको छ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार ११:५२