कोरोना रोकथामका लागि २२० आईसीयू बेड तयार पार्ने सरकारको निर्णय
३ चैत, काठमाडाैँ । सरकारले कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि २२० आईसीयू बेड तयार पार्ने निर्णय गरेको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा १२० र उपत्यका बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको हो ।

बैठकले कोरोना उपचारका लागि अस्पतालहरू समेत तोकेको छ । नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पतालमा २०/२० वटा आईसीयू वेड तयार पार्ने निर्णय गरेको छ । सकारले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको हो ।
टेकु अस्पतालमा १००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, आयुर्वेदिक अस्पतालमा २००, कीर्तिपुर र पाटन अस्पतालमा ७०, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००/१०० आइसोलेटेड बेड बनाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति : March 16, 2020 at 8:40 pm









