१० असार २०८३, बुधबार | Wed Jun 24 2026

चुरेक्षेत्रमा पिउने पानीको अभाव शुरु

२ चैत, सर्लाही । सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली र ढुङ्ग्रेखोलालगायतका बस्तीमा माघ, फागुन महिनादेखिनै पिउने पानीको अभाव हुन थाल्छ । चुरेफेदीका गाउँमा चापाकल सुक्न थालेका छन् । बढ्दो वन विनाश, नदी तथा वनजङ्गल दोहनले खानेपानीका मुहान चाँडो सुक्न थालेको लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण बैद्य बताउँछन् ।

फाइल फाेटाे

गाउँका ४५/५० घरधुरीका मानिस पिउने पानीक जोहो गर्न छिमेकी गाउँसम्म पुग्न बाध्य हुनुपरेको छ । ती घरधुरीको एक मात्र कुवा रहेको र सो कुवामा आवश्यक पानी नभएको तथा वैकल्पिक स्रोतको व्यवस्था नभएकाले पिउने पानीको समस्या थप जटिल बनेको छ ।“सानो कुवा छ । रातभर सङ्कलन गरेको पानीले गाउँका ५/६ घरधुरीलाई मात्र पुग्छ । पछि पुग्नेले छिमेकीगाउँका कुवा, धारा तथा खोलाको पानी प्रयोग गर्न करिब एक डेढ घण्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ”, लालबन्दी नगरपालिका– १४ नारायण खोलाका स्थानीयवासी रेशम तामाङ भन्छन्।

पशु चौपाय र मानिसले एउटै कुवाको पानी खानुपर्ने बाध्यता छ । त्यसले गर्दा गाउँमा हरेक वर्ष झाडापखालालगायतका पानीजन्य रोग लाग्छन् । आफूहरुलाई सुख्खायाम शुरु भएपछि पिउने पानीको जोहो गर्न चिन्ता लाग्ने गरेको ईश्वरपुर नगरपालिका १६ परवानीपुरका राजेन्द्रप्रसाद ढुङ्गेलले बताए ।मुहान नै सुक्न थालेपछि चुरेको तल्लो गाउँका धाराका साथै चापाकल सुक्न थालेको हरिवन नगरपालिका–४ का प्रेमनाथ पौडेलले बताए । धारामा पानी भर्न लाम बस्दा स्थानीयवासीबीचमा झगडा हुने गरेको पौडेलको भनाइ थियो ।

चुरे क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न फेदीका स्थानीय निकायले पहल गरिरहेका छन् । लिफ्टिङ प्रणालीबाट भए पनि चाडैँ सो क्षेत्रमा पिउने पानी व्यवस्थापन गर्ने गरी काम भइरहेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद प्रसाईँले बताए । समस्या समाधान गर्न प्राविधिक अध्ययन शुरु गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज देवकोटाले बताए । नगरपालिकाको विकट क्षेत्रमा प्राविधिकसहितको टोली गएर अध्ययन गरिसकेको र नजिकैको खोलाबाट पानी लिफ्टिङ प्रणालीबाट भए पनि सो क्षेत्रमा पु¥याउने प्रयास भइरहेको नगरप्रमुख देवकोटाको भनाइ थियो । इटाभट्टाको सङ्ख्यामा वृद्धि, वन विनाश तथा नदी दोहनले पछिल्लो समयमा पानीका मुहान चाँडो सुक्न थालेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : March 15, 2020 at 4:23 pm