१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने, मन्त्रीले दिए कडा निर्देशन

–अजयकुमार साह

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताउनुभएको छ । नेपाल रेल्वेको निरीक्षण गर्न आज जनकपुरधाम आउनुभएका मन्त्री नेम्वाङले जसरी पनि आगामी तीन–चार महिनाभित्र रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री नेवाङले रेलको चालकदेखि करिब तीन सय प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र अब नीतिगत कुराहरु गर्न बाँकी रहेको बताउनुभयो । जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्नेछ ।” मन्त्री नेम्वाङका अनुसार रेल गुडाउन पाँच–सातजनाको प्राविधिक टोलीमात्र भारतबाट ल्याइनेछ । उहाँले यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोलीलाई फिर्ता गरिने बताउनुभयो ।

सांकेतिक तस्बिर ।

यात्रुवाहक एक रेल तयारी अवस्थामा रहेको र अर्को बनिरहेको जानकारी गराउँदै मन्त्री नेम्वाङले आवश्यकताका आधारमा मालवाहक रेलसमेत सञ्चालनका लागि पहल हुने जानकारी दिनुभयो । नेपाल रेल्वेले गरेको कर्मचारी विज्ञापनको मापदण्डअनुसार एकजना पनि दक्ष जनशक्ति नेपालमा उपलब्ध नहुने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री नेम्वाङले नेपालमा उपलब्ध नभए विदेशबाट करारमा नियुक्त गर्ने बताउनुभयो ।

मन्त्री नेम्वाङसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्रलगायतका समेत निरीक्षण टोलीमा सहभागी हुनुहुन्थ्यो । टोलीले रेल्वेको अवलोकनपछि जनकपुरधाम–जटहीसम्मको ६ लेन सडकको समेत निरीक्षण गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार २२:२९